You are here

सिटीको लगातार १३ जित

एएफपी मंसिर १९, २०७४-डेविड सिल्भाले अन्त्यतिर गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार वेस्ट ह्यामलाई २–१ ले पराजित गर्‍यो । पहिलो हाफमा एक गोलले पछाडि परेको सिटीले जितसँगै अंकतालिकाको शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ ।

केही सातायता खेलको अन्त्यतिर नाटकीय जित हासिल गर्दै आएको पेप ग्वार्डिओलाको टोलीले त्यस सिलसिला जारी राख्दै आइतबार अर्को जित दर्ता गर्‍यो । खेल सकिनु सात मिनेट बाँकी छँदा सिल्भाले विजय गोल गरेपछि सिटीले लिगमा लगातार १३ जितको कीर्तिमान बराबरी गर्‍यो ।

पहिलो हाफमा एन्जेलो ओग्बोन्नाको गोलमा अग्रता लिएको वेस्ट ह्यामले दोस्रो हाफमा अग्रता बचाउन सकेन । निकोलास ओटामेन्डिले बराबरी गोल गरे भने सिल्भाले उत्कृष्ट भलीमार्फत टोलीलाई अग्रता दिलाए । सिटीले एकै सिजनमा लगातार १३ जितको कीर्तिमानको बराबरी गरेको छ । यसअघि चेल्सीले २०१६/१७ र आर्सनलले २००१/०२ सिजनमा लगातार १३ खेल जितेका थिए । यद्यपि लिगमा लगातार १४ जितको कीर्तिमान भने आर्सनलको नाममा छ ।

सन् २००२ को फेब्रुअरीदेखि अगस्टसम्म आर्सनलले दुई सिजनका खेल जोडेर लगातार १४ जित दर्ता गरेको थियो । आइतबारको जित सिटीको सबै प्रतियोगितामा लगातार २० औं जित थियो । अर्को साता युनाइटेडविरुद्धको म्यानचेस्टर डर्बीमा सिटीसामु अझै धेरै कीर्तिमान बनाउने सुनौलो अवसर छ ।

वेस्ट ह्याम लगातार आठौं खेलमा जित दर्ता गर्न नसकेपछि अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ । पहिलो हाफमा राम्रो प्रदर्शन गरेको डेविड मोयसको टोलीले अग्रता पनि लिएको थियो । तर दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा मोयस लिगमा पहिलो जित दर्ता गर्न असफल रहे ।

 

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!