राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

१४ पुस, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवासचन्द्र नेम्वाङसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवासँग परामर्श गर्दै राष्ट्रपतिले विधेयकमा राजनीतिक सहमति जुटाउन दलहरुलाई आग्रह गरे पनि मिलविन्दु पहिल्याउन नसकेकाले आफ्नो कर्तव्य र भूमिकाअनुसार अध्यादेश प्रमाणीकरण गर्ने बताइन्।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिले प्रमाणीकरणअघि राजनीतिक नेतृत्वसँगै कानुनविदहरुसँग अध्यादेशका विविध पक्षमा छलफल गरेर अन्तिम निर्णयमा पुगेको बताइन्। सरकारले एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश पठाएपछि शीतल निवासमा दुई महिनादेखि रोकिएको थियो।

एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अडि्एको थियो । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्‍यो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।

अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।अनलाइनखबर

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!