You are here

राजधानीको सवारी जाम हटाउने कुलमान र चिरिबाबुका सूत्र

९ पुस, काठमाडौं । सडक साँघुरो हुँदा कारण सवारी जाम बढ्छ भन्ने मान्यता काठमाडौंको हकमा लागू नहुने अवस्था छ । भक्तपुरको आठ लेन सडकमै पछिल्लो समयमा सवारी जाम उच्च दरमा बढेको छ ।

फराकिलो सडकमै घण्टौं हुने सवारी जामले उपत्यकाको ट्राफिक व्यवस्थापनको सवाल अब सडक विस्तारसँग मात्रै सम्बन्धित नभएको स्पष्ट भएको छ । भक्तपुरमा विस्तार भएको फराकिलो सडक पनि सवारीको चापले साँघुरो बनेको छ ।

 

भक्तपुरसम्म ठूला बाटो बनेको र कोठाभाडा पनि चक्रपथभित्र भन्दा सस्तो हुने भएकाले उक्त क्षेत्रमा आवासीय प्रयोजन बढेको छ । सोही कारण कार्यालय समयमा ६ लेनको सडकमा निकै लामो र कष्टपूर्ण जाम हुन थालेको छ ।

सँगै बीपी र अरनिको राजमार्गमा चल्ने सवारी साधन कोटेश्वर र रत्नपार्क क्षेत्रबाट छुट्ने र त्यहीं यात्री ओरोलिने भएकाले पनि जामको संक्रमणमा परेको छ, उक्त सडक खण्ड ।

कोटेश्वर चोकमा गाडी रोक्दै पास गराउनुपर्ने बाध्यता र विमानस्थलसँगै सडकको साँघुरो अवस्थालगायत कारण पनि जाम बढ्दै गएको ट्राफिक प्रहरीको दाबी छ ।

काठमाडौं–भक्तपुर सडकमा बिहान सखारैदेखि जाम शुरु भइसकेको हुन्छ । यसबाट राजधानीमा सवारी साधनको जाम कुन स्तरमा छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

बिहान कार्यालय समय शुरु हुनै लाग्दा उपत्यकाभरि नै सवारी आवागमन बढ्छ । त्यसैको असरले प्रायः सबै सडकमा जाम उच्च रुपमा फैलिन्छ । त्यसको असर फराकिला सडकसम्म पुग्छ ।

कुलमान र चिरिबाबुको सूत्र

काठमाडौंका सडकमा जामको समस्या बढ्नुमा १/२ कारण मात्रै छैनन् । मुख्यतयाः ट्राफिक व्यवस्थापनको नीति, योजना र पूर्वाधार अभावले सवारी जाम बढिरहेको यातायात व्यवस्था विभागको निष्कर्ष छ ।

देश नै आक्रान्त बनेको लोडसेडिङ एउटै प्रयासमा अन्त्य गर्न सफल भएका विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ ट्राफिक जामलाई लोडसेडिङजस्तै ‘पिक टाइम म्यानेजमेन्ट’को नीतिमा रहेर हेर्नुपर्ने मान्छन् ।

 

जसरी बिहान र साँझ बिजुलीको उच्च माग हुँदा लोडसेडिङ बढ्दै जान्छ, त्यसरी नै बिहान र साँझ कार्यालय लाग्दा र छुट्दा सवारीको जाम उच्च हुन्छ । जामको समस्यालाई ‘पिक प्यानेजमेन्ट’को दृष्टिमा सम्बोधन गर्न सकिने घिसिङको मत छ ।

एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने व्यस्त समयमा कुनै तरिका लगाएर सार्वजनिक सवारीबाहेक अन्यलाई कम गर्दै व्यवस्थापन गर्न सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापनमा उनकै अवधारणा अगाडि सारेका छन् । मेयर महर्जनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका छन् ।

उनले विभिन्न छलफलहरुमा गृह मन्त्रालय र प्रहरीलाई फरक प्रकृतिका कार्यालयलाई छुट्टा–छुट्टै समयमा खोल्ने र बन्द गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन् ।

त्यस्तो व्यवस्था भएमा अहिले देखिएको ट्राफिक जामको समस्या धेरै हदसम्म समाधान हुने उनको दाबी छ ।

‘समृद्ध मुलुकमा कहीं पनि सबै प्रकृतिका कार्यालय एकै समयमा खोलिँदैनन् । हामीले पनि काठमाडौंमा बढेको जामको समस्यालाई हटाउन त्यही नीति अवलम्बन गर्नुपर्छ,’ मेयर महर्जन भन्छन्, ‘अब निजी क्षेत्रका कार्यालय बिहान आठ बजे खोलौं, संस्थानका कार्यालयमा नौ बजेबाट सेवा शुरु गरौं, सरकारी कार्यालयलाई १० बजेको समय दिऔं ।’

 

उनको भनाइमा अहिले बिहान १० बजे सबै एकैपटक सडकमा निस्किने तालिका छ । ‘अनि, दिनभर जाम भइरहन्छ । यसलाई त व्यवस्थापन नगरी सुखै छैन,’ उनी भन्छन् ।

निजी क्षेत्रलाई बिहान आठ, संस्थानलाई नौ र सरकारी कार्यालयलाई १० बजे खोल्न सुझाव

सबै पक्षसँग समन्वय गरेर कार्यालयहरु खोल्ने र बन्द गर्ने समयलाई विविधीकरण गरिए काठमाडौं उपत्यकामा बढ्दो सवारी जामको समस्या हल हुने विश्वास उनको छ ।

‘जामको समस्या पिक आवरमा सरल रुपमा सवारी व्यवस्थापन गरेरै सुल्झाउन सम्भव छ । फरक समयतालिकामा फरक प्रकृतिका कार्यालय खोल्ने व्यवस्थाबाट १० र चार बजेआसपास हुने सवारी चाप घटाउन सकिन्छ,’ महर्जन भन्छन् ।

‘पिक एन्ड ड्रप’मा विद्यासुन्दर

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य भने सवारी जाम हटाउन सडकमै गरिने पार्किङलाई निरुत्साहित गर्नुपर्ने मत राख्छन् ।

‘सडक छेउमा सार्वजनिक सवारी रोकेर यात्रु कुर्न दिनु हुँदैन । मैले पटक–पटक पिक एन्ड ड्रप सिस्टम लागू गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको छु,’ शाक्य भन्छन् ।

सडक छेउमा यात्रु कुरेर बसिरहने प्रवृत्तिले जाम बढेको उनको मत छ । त्यसले यात्रुलाई पनि सास्ती भएको र सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको शाक्य बताउँछन् ।

‘सुन्धारामा सार्वजनिक सवारीहरु चौथो लेनसम्मै रोकेर यात्रु कुरिरहेका छन् । यसो गर्न नदिऔं,’ शाक्य भन्छन्, ‘काठमाडौंको मुख्य भागमै जाम भएपछि शहरभरि त्यसको असर पर्छ । सुन्धाराको जामले टेकुमा असर गर्छ । टेकुको जामले अन्त असर गर्छ ।’

महानगरले साझा बसमा लगानी गरेर सार्वजनिक सवारी चढ्न नागरिकलाई प्रोत्साहित गरिरहेको उनी बताउँछन् । सार्वजनिक यातायात प्रभावकारी भए निजी सवारी चढ्नै नपर्ने उनको ठम्याइ छ । उपत्यकामा ठूला बस मात्र चल्न दिनुपर्ने पक्षमा छन्, शाक्य ।

‘राति पनि शहरलाई खुला राख्न ठूला बसहरु रातिसम्म सञ्चालन गर्न जरुरी छ,’ उनी भन्छन्, ‘अब शहर निदाउनु हुँदैन ।’

बुट, प्याडल र बसको प्रबद्र्धनः प्रहरी

प्रहरी महानिरीक्षक प्रकाश अर्याल भने सवारी जामको समस्याको दोषी नागरिक र सरकार दुवै भएको बताउँछन् ।

‘जाने बुझेका भनिने हामी ९० प्रतिशत मान्छे आफ्नै सवारी चढ्छौं । हामी पब्लिक बस चढ्न किन रुचाउँदैनौं ?’ उनी प्रश्न गर्छन् । उनको बुझाइमा समस्या बसमा पनि छन् । आत्मसम्मानसहितको सार्वजनिक यातायात सेवाको थालनी नभएसम्म सबै नागरिकले आफ्नै सवारी किनिरहने उनको ठम्याइ छ । भन्छन्, ‘अब त सार्वजनिक यातायात सुधार्नैपर्छ ।’

काठमाडौंमा बस्ने सबैले आफ्नै सवारी राख्ने अवस्था आए अहिले १० लाख रहेको सवारी संख्या ४० लाख नाघ्ने प्रहरी महानिरीक्षक अर्याल बताउँछन् । अहिलेकै गतिमा निजी सवारी मोह बढ्दै गए भविष्यमा भयावह अवस्था आउने उनी बताउँछन् ।

‘जनप्रतिनिधिहरुले पनि सार्वजनिक सवारी प्रयोग गर्दा हीनताबोध नहुने गरी वातावरण बनाउनुप¥यो,’ उनी भन्छन्, ‘सवारीमा सुरक्षाका सवालमा काम गर्नु परे प्रहरी तयार छ । सबै नागरिकले आफ्नै सवारी किन्न खोज्ने वातावरणलाई अब फेरौं ।’

काठमाडौंका सडक युरोपको भन्दा खासै सानो नरहेको उनको भनाइ छ ।

‘बसको छुट्टै डेडिकेटेड लेन तोकौं, निजी कारमा भन्दा एक घण्टा छिटो गन्तव्यमा पुग्ने ग्यारेन्टी गरौं,’ प्रहरी महानिरीक्षक अर्याल भन्छन्, ‘त्यसो भयो भने सार्वजनिक सवारी चढ्न नागरिक आफैं उत्साहित हुन्छन् ।’

शहरमा बुट, प्याडल र बसको प्रवद्र्धनमा स्थानीय सरकार लाग्नुपर्ने उनको भनाइ छ । बुटलाई अर्यालले फूटपाथ, प्याडललाई साइकल र बसलाई सार्वजनिक यातायातका रुपमा दर्शाए ।

‘सडकले चेपेर फूटपाथ हिँड्नै नसक्ने साँघुरो नबनाऔं, साइकल लेनको अवधारणामा जाऔं र प्रयोग गर्न प्रोत्साहन गरौं,’ अर्याल भन्छन्, ‘ठूला शहरी बसलाई नागरिकको पहुँच र शहरको प्रतिष्ठासँग जाडेर प्रयोगयोग्य बनाऔं ।’

प्रतिबन्धकाे पक्षमा यातायात विभाग

यातायात व्यवस्था विभागको नजरमा भने अब चक्रपथभित्रको सवारी जामलाई व्यवस्थापन गर्न निकै मुस्किल छ ।

त्यसैले निकट भविष्यमै मोटरसाइकललाई चक्रपथभित्र चलाउन प्रतिबन्ध लगाउनुपर्ने विभागको मत छ ।

‘यसबारे गृहकार्य थालेपछि विभिन्न खालका प्रतिक्रिया आए । तर, लगातार सवारीको संख्या बढिराख्ने र जाम पनि उच्च हुँदै जाने भयो भने एक न एक दिन यस्ता विकल्पमा नगई हुँदैन,’ विभागका महानिर्देशक रुपनारायण भट्टराई भन्छन्, ‘अब काठमाडौंका सडकले जति पनि सवारी थेग्ने क्षमता राख्दैनन् । त्यसैले नियन्त्रणको एउटा नीति लिनैपर्छ ।’

कुनै स्थानमा मोटरसाइकल पार्क गरी सार्वजनिक सवारी चढेर चक्रपथभित्र आउन सकिने विभागको भनाइ छ ।

माइक्रो बस हटाउने मान्यता

एसियाली विकास बैंकले अध्ययन गरेका वैज्ञानिक रुटहरुमा ठूला सार्वजनिक बस चलाउनुपर्ने विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन् ।

सरकारले काठमाडौंमा अहिले कायम रहेका दुई सयभन्दा बढी खण्ड–खण्डका छोटा रुटलाई एकीकृत गरी ६६ वटामा सीमित गर्न सकिने निष्कर्ष निकालेको छ ।

खासगरी सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेन्डरी र टर्सरी गरी तीन भागमा विभाजन गरेर रुटहरु कायम गर्न लागिएको छ ।

र, सोही आधारमा विभागले ठूला बसलाई रुट अनुमति दिन थालेको पाण्डे बताउँछन् । अहिले कायम रहेका अव्यवस्थित रुटहरुलाई यसबाट व्यवस्थित गर्न सकिने विश्वास विभागको देखिन्छ ।

‘अब काठमाडौंमा लामो रुटमा साना माइक्रो हट्न शुरु भइसकेको छ । व्यवसायीले नयाँ बस ल्याउँदा ठूला बस नै प्राथमिकतामा राखेका छन्,’ पाण्डे भन्छन्, ‘यसले पनि काठमाडौंको सवारी व्यवस्थापनमा मद्दत पुग्छ ।’

साना सार्वजनिक सवारी हटाएर ठूला ल्याउनसके सडकमा चाप घट्ने र यात्रुले स्तरीय सेवा पाउने अवस्था बन्ने दाबी पाण्डेको छ ।

खाेर्इ त पूर्वाधार ?

काठमाडौंमा सवारी जाम बढ्नुको अर्को महत्वपूर्ण कारण हो, सडक पूर्वाधारको अभाव । काठमाडौंमा अहिलेसम्म एउटा पनि फ्लाई–ओभर निर्माण भएको छैन । अधिकांश चोकमा आकाशे पुल छैनन् ।

मुख्य चोकहरुमा फ्लाई–ओभर राख्न सके सवारी जामको समस्या धेरै हदसम्म हट्ने पूर्वाधार विज्ञ सूर्यराज आचार्य बताउँछन् । पैदलयात्रुलाई बाटो काट्न बानेश्वरजस्तो मुख्य चोकमै आकाशे पुल बनेको छैन । सवारीका लागि अन्डरपास बनाउन पनि सरकारले ध्यान दिएको छैन ।

सडकमा सीसी क्यामेरा जोडेर ट्राफिक नियमको कार्यान्वयनलाई स्मार्ट प्रविधिमा लैजाने कुरामा सरकार उदासिन देखिन्छ ।

विश्वभर प्रयोग भइरहेको ट्राफिक लाइटसम्म प्रयोग नगरेर काठमाडौंको सवारीजाम हटाउने सूत्र खोजिँदैछ । चोकहरुमा ट्राफिक प्रहरीहरु हातैले इशारा गरेर सवारी रोक्ने र छुटाउने गरिरहेका छन् ।

नियम पालना र करिडोरमा जोड

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनाल प्रविधिको प्रयोगमा नजाँदा पनि काठमाडौंमा जामको समस्या विकराल बन्दै गएको बताउँछन् ।

यस्तै, करिडोरहरुको निर्माणमा भएको ढिलाइले पनि समस्या ल्याएको छ । निर्माणाधीन धोबीखोला, वागमती, विष्णुमतीलगायत करिडोर सडक सञ्चालनमा ल्याउन सके काठमाडौंको ३० देखि ४० प्रतिशतसम्म सवारी जाम स्वतः हट्ने उनको दाबी छ ।

सवारीलाई मूल सडकमा आउनैपर्ने बाध्यताको विकल्प दिने भएकाले करिडोर सडक निर्माण र सञ्चालनलाई ध्यान दिनुपर्ने उनी बताउँछन् ।

यस्तै, चालकहरुले सही ठाउँमा रोक्ने, लेन क्रस नगर्ने, जथाभावी पार्किङ नगर्नेलगायत नियम सभ्यतापूर्वक मानिदिए पनि जामको समस्या निकै घट्ने खनाल बताउँछन् ।

सडकको दुरावस्थाले पनि समस्या बढाएको भने सत्य हो ।

‘निजी सवारीको दर्ता रोकौं’

सडक विभागका अधिकारीहरु भने जाम घटाउन अब उपत्यकामा निजी सवारी आयात नै निरुत्साहित गर्नुपर्ने बताउन थालेका छन् ।

भन्सार महशुलको लोभमा काठमाडौंमा जति पनि सवारी आयात र दर्ता गर्न दिइरहे केही वर्षमा यहाँ गाडी चढ्नु र नचढ्नुको अर्थ नहुने विभागका एक अधिकारी बताउँछन् ।

‘सबै सवारी एकैपटक निस्किए भने सडक पुरै भरिन्छ,’ ती अधिकारी भन्छन्, ‘४५ प्रतिशत ग्यापलाई छाड्ने हो भने काठमाडौंको सडकले अब थप चाप थेग्दैन ।’

उनी करको दर उच्च बनाएर भए पनि निजीभन्दा सार्वजनिक सवारी चढ्न प्रोत्साहन गर्न सकिने बताउँछन् । नियन्त्रणको नीति नआए पूर्वाधार थपेर मात्र समस्या समाधान नहुने निष्कर्ष विभागका अधिकारीहरुको छ । अनलाइनखबर

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!