You are here

बैशाखमै मेलम्ची ! काठमाडौंले आश गरोस्, भर नपरोस्

१६ पुस, मेलम्ची । सरकारले ‘बैशाखमै मेलम्ची आउँछ’ भनिरहेको छ । काठमाडौंबासी पनि त्यही अाशमा छन् । तर, मेलम्ची अायोजनामा कार्यरत प्राविधिकहरु ‘बैशाखको भाका’लाई चुनौतीपूर्ण मान्छन् ।  दोस्रो सुरूङ खण्डको ब्रेक-थ्रु समारोहमा मेलम्चीमै भेटिएका कतिपय प्राविधिक यसलाई सरकारले बोलेकाे मेलम्चीका लागि ‘अन्तिम झुठ’ को संज्ञा दिए ।

शनिबार भएको ग्यालथुङ-अम्बाथान सुरुङ खण्डको ब्रेक-थ्रुले सकारात्मक सञ्चार गरेको छ । शनिबारसम्म सिन्धु-ग्यालथुङ खण्डको ४४३ मिटर मात्रै सुरुङ खन्न बाँकी छ ।

निर्माण सुरू भएको ९ वर्षपछि मात्रै मेलम्चीले नयाँ अाश जगाउन सकेको छ । त्यसअघि कागजी प्रक्रियामै एक दशक बढी अल्मलिएको मेलम्चीको सरूङमा अन्तिम ब्रेक-थ्रू हुन बाँकी छ ।

तर, त्यो हुनासाथ बैशाखसम्म सिन्धुपल्चोकको पानी काठमाडौंमा झार्न भने मेलम्ची खानेपानी आयोजनालाई कम्ता चुनौती छैन । ब्रेक-थ्रूपछि खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रजाक, सिँचाई सचिव गजेन्द्र ठाकुर मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले बैशाखसम्म पानी काठमाडौं पुर्‍याउने गरी काम भइरहेको बताए । तर, मेलम्चीको चुनौती प्रशस्तै रहेको पनि उनीहरूले स्वीकारे ।

‘नयाँ वर्षमा काठमाडौंमा पानी लैजाने गरी काम भइरहेको छ । तर, सिन्धु-ग्यालथुङ खण्डको अबको बाँकी खण्ड छिचोल्न अली बढी चुनौती छ, बाँकी खण्ड खन्न अली बढी चुनौती छ,’सचिव ठाकुरले भने,’ नरम चट्टानका कारण सो खण्डको ब्रेक-थ्रु अली बढी असजिलो छ । तर, समयमै काम गर्न हामी प्रतिवद्ध छौं ।’

मेलम्चीको झण्डै २८ किलोमिटर खण्डमध्ये अब ४ सय मिटर मात्रै बाँकी रहेकाले सरकारी अधिकारी उत्साहित छन् । त्यसैले उसले अहिलेसम्म मलम्चीको बैशाखको भाका सारेको छैन ।

केही सरकारी अधिकारी भने बैशाखको भाका चुनावमा भोट जोगाउन मात्रै राखिएकाले अब म्याद नथपी नहुने बताइरहेका छन् ।

‘नेताहरुले प्राविधिक रुपमा सम्भब छ/छैन भन्ने नबुझी आफू चर्चित हुन मात्रै नजिकैको भाका राखिदिएका छन्, त्यसले नागरिकलाई पटक-पटक छल भएको छ, मेलम्ची आयोजनाका ती अधिकारी भन्छन्,’ लोकप्रिय हुन र भोट जोगाउन मात्रै नहुने कुरा बोलिदिँदा आयोजना धेरै आलोचित भयो । राजनीतिक तहले तथ्यमा के छ भनेर नहेर्दा फेरि त्यही समस्या दोहोरिने अवस्था छ ।’

उनले फेरि आयोजनाको म्याद धकेलिन सक्ने संकेत मात्रै गरे ।

आयोजनामा काम गरिरहेका इन्जिनियर तथा प्राविधिकहरु पनि बैशाखसम्म काठमाडौंमा पानी नझर्ने ठोकुवा गरिरहेका छन् ।

हेडर्वक्स मै धेरै काम बाँकी रहेको, सुरुङको फिनिसङ पनि नभएको र एउटा खण्ड ब्रेक-थ्रु हुनै बाँकी रहेकाले बैशाखमा काठमाडौंमा पानी पुर्‍याउने कुरा प्राविधिक रुपमा सम्भव नहुने उनीहरुको तर्क छ ।

नाम नबताउने सर्तमा सुरुङ निर्माणको लागि खटिएका एक इन्जिनियरले अबको दशैंसम्म पनि काठमाडौंमा पानी पुर्‍याउन मुस्किल पर्ने बताए । उनले अर्को हिउँदसम्म काठमाडौंमा मेलम्ची पुग्ने कुरा भने निश्चित रहेको बताए ।

तर, बैशाखमै पानी काठमाडौंमा झार्ने कुरा अबको कामको गति र सरकारले बनाउने वातावरणमा निर्भर हुने बताए ।

‘अन्तिम समयमा फेरि म्याद थप्ने गरी अहिलेसम्म बैशाख-बैशाख भनिँदैछ । प्राविधिक रुपमा गर्नुपर्ने कामहरुलाई गम्भीरताका साथ अघि नबढाएसम्म वैशाखमा काठमाडौंले पानी पाउँदैन,’ उनी भन्छन्,’मेलम्चीबाट प्राविधिकले दिएको सन्देश भनेर लेखिदिनुहोला-काठमाडौंले वैशाखमा पानी आउँछ भनेर आश गरोस्, भर नपरोस् ।’

मेलम्चीको सुरुङमा मात्रै हैन, हेडर्वक्समा पनि अहिले विभिन्न निर्माणका काम चलिरहेको छ । अम्बाथानभन्दा केही माथि मेलम्चीको पानी थुनेर सुरुङमा हाल्ने योजना छ ।

त्यहाँ करिब ५ मिटरभन्दा अग्लो बाँध बाँधेर मात्रै मेलम्चीलाई सुरुङमा हाल्न मिल्छ । अहिलेसम्म त्यहाँ बाँध निर्माणको काम सुरु भएकै छैन ।

नाम नबताउने शर्तमा प्राविधिकहरु बैशाखसम्म बाँध निर्माणको काम सक्न चुनौती रहेको बताउँछन् । त्यस्तो बाँध प्राविधिक रुपमा बलियो हुनुपर्ने भएकाले पनि काम सुरु गरेर फटाफट सक्न चुनौती हुने उनीहरुको दाबी छ ।

त्यसैगरी हेडर्वक्समा पानी फिल्टरेशनको संरचना नै बनाइएको छैन । तर, काठमाडौं पानी लैजान यो संरचना नबने पनि समस्या भने हुने छैन । तर, पनि यो काम समेत छिटै सक्नुपर्ने अवस्था भने छ । नत्र सुरुङमा बालुवा र ढुंगा थुप्रने खतरा बढी हुन्छ ।

मेलम्चीका अबको अर्को मुख्य काम हो, सुरुङको फिनिसिङ । अहिलेसम्म ३ किलोमिटर सुरुङको मात्रै प्लास्टर सकिएको छ । बाँकी करिब २५ किलोमिटर सुरुङको फिनिसिङका लागि भर्खरै ८ वटा नयाँ मिक्स्चर मेसिन आइपुगेको छन् ।

अब सुरुङ फिनिसिङको काम तीव्र पार्ने योजना बनाइएको छ । सुरुङ फिनिसिङको काम जति छिटो सकिन्छ, त्यति नै काठमाडौंमा पानी आउने समय नजिकिनेछ ।

त्यसपछि अडिट सुरुङहरु थुन्ने काम पनि गर्नुपर्नेछ । अडिट सुरुङ थुन्ने काम भएपछि मात्रै सुरुङमा पानी हाल्न सकिन्छ ।

मेलम्चीलाई बैशाखमै सक्न चुनौती थपेको छ, सिन्धु-ग्यालथुङ सुरुङ खण्डले । जहाँ नरम चट्टान भेटिएर समस्या परेको बताइँदैछ । सुरुङ खन्दा नरम चट्टान भेटिँदा काम सुस्त गर्नुपर्छ ।

नरम चट्टान क्षेत्रमा काम गर्नेहरु दुर्घटनाको जोखिममा हुन्छन् भने माटो भासिएर सुरुङ खुम्चिने खतरा पनि उत्तिकै हुन्छ । विष्फोटक पदार्थ प्रयोग गर्न पनि समस्या पर्छ । त्यसैले कडा चट्टानमा जस्तो नरम चट्टानमा काम गर्न सकिँदैन ।

तर, पनि जनवरीभित्रमा जसरी पनि यो खण्डको ब्रेक-थ्रु गर्ने दाबी गर्छन्, आयोजना प्रमुख देवकोटा । उनी सुरुङ निर्माण र फिनिसिङको काम समानान्तर रुपमा अघि बढाइने भएकाले अहिलने नै बैशाखमा पानी आउने विषयमा आशंका नजनाउन आग्रह गर्छन् ।

तर, मेलम्चीका साइटमा भेटिएका केही पनि इन्जिनियर अनौपचारिक कुराकानीमा यसलाई ‘असम्भव’ मान्छन् । सरकारले वातावरण बनाउन सके मात्रै बैशाखबाट काठमाडौंले मेलम्चीको पानी पिउन पाउने उनीहरुको तर्क छ ।

‘बैशाखमा मेलम्चीको पानी आउने कुरा अन्तिम झुठ हो । यो पछिको तोकिने भाकामा भने काठमाडौंमा पानी जसरी पनि पुग्छ,’ अर्का एक इन्जिनियर भन्छन्,’काम धेरै बाँकी छन् । तर, धेरै अप्ठेरा काम सकिएका पनि छन् । त्यसैले सरकारले वैशाखमा आउँछ भनेपछि अपेक्षा गर्न सकिन्छ । विश्वास नै चाँही नगरिहालौं ।’

मेलम्चीको सुरुङ निर्माणको काम इटालियन कम्पनी को-अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले गरिरहेको छ । उसका प्राविधिकहरु पनि काम तीव्र गतिमा भइरहे पनि सरकारले तोकेको बैशाखको समयसीमालाई ‘चुनौतीपूर्ण’ भनिरहेका छन् ।

सरकार भने बैशाखमा जसरी पनि मेलम्चीलाई काठमाडौंमा झार्ने दाबी गरिरहेको छ । अब सरकरको भनाइ मान्ने कि प्राविधिकको कुरा पत्याउने , त्यो जिम्मा काठमाडाैंबासीसँगै छ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!