You are here

नेपाल आउँदै सलमान खान, ३ घन्टाको स्टेज शो

काठमाडौं– भारतीय सिने उद्योग (बलिउड) का चर्चित नायक सलमान खान २३ वर्षपछि होलीको अर्को साता नेपाल आउने भएका छन्।

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले नेपाल लाइभलाई जानकारी दिए।

सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन्। ‘दबंग द टुर’ नाम दिइएको यो सांगीतिक भ्रमणका लागि सलमान ९ मार्चको बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन्।

कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता मनिष बहलले गर्दैछन्। मुख्य शो भने मार्च १० (फागुन २६) मा टुँडिखेलमा हुनेछ। यसपालि ५० हजारको हाराहारीमा सलमानका समर्थक टुँडिखेलमा ओइरिने आयोजक ओडिसीले विश्वास लिएको छ।

‘यदि यो सम्भव भएमा नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो शो हुनेछ,’ गुरुङले भने। कार्यक्रमलाई फेस्टिभलको रुपमा मनाउन १२ बजेदेखि नै गेट खुला गर्न लागिएको उनले जानकारी दिए। सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्नेछन्। उनले करिब ३ घन्टा स्टेजमा नाचगान गरेर नेपाली दर्शकलाई तताउनेछन्।

‘कार्यक्रमको सेट–अप अन्तर्राष्ट्रियस्तरको हुनेछ। दिल्लीको जवाहरलाल नेहरु रंगशालामा गत १० तारिखमा ‘दबंग द टुर’ भएको थियो। यहाँ पनि ५० हजारको हाराहारीमा उनका समर्थक थिए,’ ओडिसीका निर्देशक गुरुङले भने, ‘त्यसैले काठमाडौंमा पनि सफलतापूर्वक यो कार्यक्रम सञ्चालन हुनेमा ढुक्क छौं।’

 

सलमानका लागि व्यक्तिगत र कार्यक्रम स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिने उनले बताए। ‘क्यानेडियन गायक ब्रायन एडम्सको कार्यक्रमभन्दा बढी सेक्युरिटी हुनेछ,’ उनले भने।

सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन्।

सलमानलाई विश्वको उच्च हिमाल सगरमाथाको अवलोकन पनि गराउने योजना रहेको गुरुङले बताए। उनका अनुसार हेलिकोप्टर चार्टर गरेर उनलाई सगरमाथाको अवलोकन गराउने योजना छ।

दर्शकको सुविधाका लागि सलमानको हिट दबंग, सुल्तान जस्ता फिल्मको नाम राखेर इन्ट्री गेट बनाइनेछ।

टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ। सलमानको यो शोका लागि मात्र १० देखि १२ करोडको बजेट छुट्याइएको गुरुङले जानकारी दिए।

savar nepal live

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!