You are here

नुवाकोट १ मा तामाङद्वारा महत पराजित

मंसिर २४, २०७४-नुवाकोट प्रतिनिधिसभा १ मा वाम गठबन्धनका उम्मेदवार माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

आइतबार बिहान सार्वजनिक परिणाम अनुसार पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका तामाङ महतलाई ८ हजार ५ सय ५३ मतान्तरसहित विजयी भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए भने महतले २७ हजार ९ सय २० पाएका छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा महतसँगै हार ब्यहोरेका तामाङले तेस्रो पटकको भिडन्तमा भने बाजी मारेका हुन् ।

सामान्य किसान परिवारमा २०२० सालमा साविकको नुवाकोट पञ्चकन्या गाविसका वडा नं १ (हाल पञ्चकन्या गाउँपालिका-३) घलेगाउँमा जन्मेका हुन् । उनी २०६८ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । नेकपा एकता केन्द्रबाट राजनीति सुरु गरेका तामाङ २०५२ सालपछि नेकपा एकता केन्द्र मसालमा रहे । मसालमा रहँदा जिल्ला उपाध्यक्ष र केन्द्रीय सदस्य थिए ।

२०५२ सालदेखि तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत भएका हितबहादुर तामाङ २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए ।

पार्टीभित्र सरल र इमान्दार छविका रुपमा परिचत तामाङ हाल नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य छन् ।

क्षेत्र नं २ मा पनि वाम उम्मेदवार खतिवडा निर्वाचित

यस्तै प्रतिनिधिसभा २ मा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नारायण खतिवडाले पराजित गरेका छन् । विजयी खतिवडाले ३६ हजार ८९२ मत माप्त गर्दा केसीले २६ हजार ३३५ मत पाए ।

जिल्लाको प्रदेशसभामा पनि वाम उम्मेदवारहरु नै निर्वाचित भएका छन् । क्षेत्र १ को प्रदेशसभा क मा माओवादीकी राधिका तामाङ १८ हजार १ सय ३७ मतले विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३ सय ६८ मत प्राप्त गरे ।

यस्तै प्रदेशसभा ख मा एमालेका बद्री मैनालीले कांग्रेसका रमेश महतलाई ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् । मैनालीले २० हजार ५ सय ९ मत पाए भने महतले १२ हजार २ सय १७ पाएका थिए ।

क्षेत्र २ प्रदेशसभा क मा एमालेका केशवराज पाण्डे २० हजार ९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदिश्वरनरसिंह के.सी.ले १२ हजार ७ सय २९ मत प्राप्त भरे ।

प्रदेशसभा ख मा माओवादीका हिरानाथ खतिवडाले विजय प्राप्त गरेका छन् । उनले १७ हजार ७२ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!