You are here

दुईपटकको विवादपछि सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना पुन सुरु

मंसिर २६, २०७४-सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को स्थगित भएको मतगणना २८ घण्टापछि अहिले भर्खरैदेखि सुरु भएको छ । सोमबार बिहान मतगणना भइरहँदा अर्धकट्टीसहित नौ थाना मतपत्र र २० रुपैयाँको नोट फेला परेपछि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले पुन मतगणना गर्न माग गरेपछि गणना कार्य स्थगित भएको थियो ।

सुनसरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार भन्दा वाम गठबन्धनका उम्मेदवार भगवती चौधरी झिनो मत १ सय ५५ लेमात्र अगाडि रहेकी छिन् ।

चौधरीले २९ हजार ३ सय २६ मत ल्याएकी छिन् भने कांग्रेसका गच्छदारले २९ हजार २ सय ७१ मत प्राप्त गरेका छन् । २१ हजार मत गन्न बाँकी रहेको छ । फेरि पनि कुनै विवाद नभए मत परिणाम मंगलबार मध्यराति सम्ममा आइ सक्ने बताइएको छ ।

मंगलबार बिहान सर्वदलीय वैठक बसिसकेपछि पार्टी प्रतिनिधि समेत बसेर पुन: मतगणना गर्ने सहमति भएर मतगणनाको तयारी गर्दागर्दै फेरि एउटा मत पेटीकामा ५ वटा मात्रै सिल बाँधिएको भेटिएपछि फेरि मत गणना रोकिएको थियो । मतपेटिकामा ६ वटा सिल हुनुपर्नेमा पाँचवटा मात्रै भए पछि फेरि मतगणना अघि बढन सकेको थिएन ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईका अनुसार मतगणनाको विषयमा दुवैपक्षबाट सहमति भएकोले मतगणना सुरु भएको छ । उनका अनुसार मतपेटिकाको पाँचवटा सिलको सम्बन्धमा मतदान केन्द्रबाटै पाँचवटा मात्रै सिल गरिएको र मुचुल्का उठाउँदा समेत पाँचवटा मात्रै उल्लेख गरिएकोले विवाद समाधान गरी मतगणना सुरु गरिएको छ ।

निर्वाचन आयोगले अर्धकट्टीसहित भेटिएका ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने र गन्न बाँकी मत गणना गर्न निर्देशन दिएपछि मत गणना सुरु गर्ने निर्णय भएको हो । मतगणनास्थल जिल्ला समन्वय समिति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!