You are here

आउनुहोस् ६ मिनेटमा ३० वटा शब्द जस्ताको त्यस्तै याद गरौं

यी ३० वटा शब्द ६ मिनेटमा जस्ताको त्यस्तै याद गर्ने कोसिस गर्नुस् । १. सुन्तला २. चरा ३. गाडी ४. हात्ती ५. साइकल ६. हस्पिटल ७. साथी८. रुमाल ९. बुबा १०. पत्रिका ११. सोफा १२. पंखा १३. कम्प्युटर १४. आगो १५. बन्दुक १६. चम्चा १७. कापी १८. ढोका १९. पात्रो २०. हिरो २१. घडी २२. फलफूल २३. पैसा २४. गाग्रो २५. सर्प २६. छिमेकी २७. डोरी २८. फलाम २९. पसिना ३०. पुलिस

त्यसपछि तपाईंलाई ती ३० वटा शब्द जस्ताको तस्तै याद आउँछ, अगाडि–पछाडि दुवैतिरबाट । एक नम्बरको शब्द सुन्तला हो । यसका लागि एउटा सुन्तला कल्पना गर्नुस् । गर्नुभयो ? त्यो सुन्तला कत्रो
छ ? कस्तो छ ? सबै कल्पना गर्नुस् ।

कल्पना गर्दा वा मानसिक चित्र बनाउँदा सबै कुरामा ध्यान दिनुपर्छ । भरसक पाँचवटै इन्द्रियको प्रयोग गर्नुपर्छ । त्यसो गर्न सकियो भने मात्रै स्मरण शक्ति बलियो हुन्छ ।

कल्पनामा डुबेर आँखाले सुन्तलाको रङ हेर्नुस् । जिब्रोले एकपल्ट सुन्तला भन्नुस् । त्यो सुन्तला तपाईंले खानुभयो भने कस्तो अनुभव हुन्छ त्यो अनुभव गर्नुस् । कानले ‘सुन्तला’ भनेको आवाज सुन्नुस् । नाकले त्यो सुन्तलाको गन्ध थाहा पाउने कोसिस गर्नुस् । छालाले एकपल्ट कल्पनामै सुन्तलालाई छोएर हेर्नुस् ।

पाँचवटै इन्द्रियको प्रयोग गर्नुभयो ? अब दोस्रो नम्बरमा चरा छ । यसलाई पनि त्यसै गरी कल्पना गर्नुस् । अब त्यो अघिको सुन्तलालाई अहिले कल्पना गरेको चराले खाँदै गरेको कल्पना गर्नुस् ।

माथिजस्तै यसरी नै कथा बनाउन थाल्नुहोस् । दिइएका शब्दहरूबाट आफ्नो दिमागमा चलचित्र नै बनाउनुस् । यो चलचित्र हिट बनाउने हो कि फ्लप बनाउने हो, त्यो कुरा तपाईंको हातमा छ । चलचित्र हिट हुनु भनेको तपाईंले सबै कुरा सम्झिनु हो ।
अब सुन्तला खाँदै गरेको चराले ३ नम्बरमा रहेको गाडी कुदाउँदै गरेको कल्पना गर्नुहोस् ।

त्यसपछि चराले गाडी कुदाउँदै गर्दा एउटा हात्ती (४ नम्बर) अगाडि आएको र त्यो हात्तीले साइकल (५ नम्बर) कुदाउँदै गरेको कल्पना गर्नुहोस् । याद राख्नुस्, कल्पना गर्दा जति हाँसउठ्दो र आश्चर्यजनक बनाउनुहुन्छ, त्यति नै याद रहन्छ । अब साइकल कुदाउँदै त्यो हात्ती हस्पिटल (६ नम्बर) गएको कल्पना गर्नुस्, जहाँ उसको साथी (७ नम्बर) भर्ना भएको छ । यो सबै कल्पना गर्दै जानुस् । एउटा हाँसउठ्दो र रमाइलो कथा बनाउँदै जानुस् । कहानी बुन्दै जानुस् है । ३० वटै शब्दलाई यसरी नै सृजनात्मक तरिकाले चित्र बनाउँदै जानुस् ।
सकियो ? अब त्यो पूरै कहानी एकपल्ट आँखा चिम्लेर फेरि कल्पना गर्नुस् त ।

अब एउटा कागजमा ती ३० वटा शब्द लेख्ने प्रयास गर्नुस् । अब कतिवटा लेख्न सक्नुभयो ? राम्ररी कल्पना गर्नुभएको थियो भने ३० वटै जस्ताको तस्तै लेख्न सक्नुभयो, नत्र २०, २५ वटा त पक्कै पनि सक्नुहुन्छ होला । त्यो पनि क्रमबद्ध रूपमा । कति सजिलो रहेछ है, याद गर्न । अबदेखि कुनै पनि कुरा याद गर्दा त्यसलाई चित्रकथामा परिणत गर्नुहोस् । हत्तपत्त बिर्सिनुहुन्न ।अर्पण शर्मा, स्मरण शक्तिका वल्र्ड रेकर्ड

Leave a Reply

Top